Monday, November 24, 2008

पाठक पत्र

घन ठोकेर बनाएको सपना सकियो
बोधनारायण श्रेष्ठ
मेरो सपना अब सकियो । बुढाले दैनिक १२ घन्टा घन ठोकेर हामीले बनाएको सपना दैलामै दशा लागेर मेटियो । घरमा बसेर पढ्दा भनेजति समय पाउँदैन भनेर हामीले उसलाई काठमाण्डौ पठायौ । ऊ क्याम्पसमा भर्ना पनि भएको थियो । तिहारमा आएर भोलिपल्ट काठमाण्डौ जान तयारी गरेको थियो । तर मेरो दिलिप छोरा हामी सबैलाई छाडेर कहिल्यै नआउने गरी गयो ।
ऊ आँखामा राखे पनि बिझाउँदैनथ्यो । उमेरले अल्लारे भएपनि घरको सबै समस्यालाई बुझ्थ्यो र दाजुभाइलाई पनि सम्झाउँथ्यो । तर के गर्नु हामी उसंगै मर्न पनि सकेनौ । आँखामा आँशु टुटेको छैन, पेटमा भोक छैन, मनमा शान्ति छैन, घरमा हाँसो छैन, गाँउको रमाइलो पनि गुमेको छ । अर्धमृत भएर बाँचिरहेका छौं अहिले हामी । साँच्चै अहिले कामी परिवारको बत्ती निभेको छ । गाउँको ज्योती कमी भएको छ ।"
२०६५ साल कार्तिक १८ गते धादिङवेशीबाट मैदी ठूलोचौर जाँदै गरेको बा २ ख ४९९६ नं.बसले पोखरीथोकका दिलिप बिकलाई ठक्कर दिएर मारेपछि म मंसिर ७ गते बिहान दिलिपको आमालाई पहिलो पटक भेटेर सान्त्वना दिन गएको थिएँ । तर मैले सान्त्वना दिनभन्दा पहिला उहाँले माथि उल्लेखित कुरा सुनाउनु भयो । मेरो आँखाबाट पनि आँसु चुहियो उहाँको पीडाको कथा सुनेर ।
उहाँले थप्नुभयो, -'बाबु भान्जा -मलाई भान्जा भन्नुहुन्छ) मलाई ती सुकिला कपडा लगाएर आउने र यति दिन्छु, भनेर कागज गरेर जाने र अहिले दिन सक्दिन भनेर मेरो मरेको छोराको मोल गर्ने मान्छेलाई भेटेर दर्ुइ चार बात गर्न मन लागेको थियो । अस्ती बुढाहरु जाँदा मलाई लैजान भनेको थिए तर लगेनन् । हुन त म कुरा जान्दिन । तै पनि तीतो फाल्न मन लागेको । गर्न त के सक्छु र । अनि मैले बोलेर फेरी कसलाई के हुन्छ र । तपाइँहरु धेरै जनाले भनेको त भा'छैन । अनि कागजै लेखेका हुन रे नि बाबु चार लाख दिने भनेर । ठूला मान्छेले सही पनि गरेका छन् भनेका थिए छोराहरुले । यस्ता ठूला मान्छेले पनि हामी जस्ता मान्छेलाई झुक्याउँछन् - नसक्ने कुरा किन बोलेका होलान् - उहाँले मलाई प्रश्न माथि प्रश्न गर्नुभयो' -म बस सुनिरहें । केही जवाफ दिन सकिन । हामीले पनि यस्तै प्रश्न र छलफल गरिरहेको कुरामात्र भने उहाँलाई ।
उहाँले मैले जस्तै मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने साथीहरुले सोचिरहेको तर भन्न नसकेको कुरा पनि भन्नुभयो । -बाबु हामीले बुझेका छौ, तपाईंहरु जस्ता बिचमा बसेर काम गर्ने मानिसहरुलाई असजिलो परिरहेको छ, किनकि हामीले कागजमा लेखेको जति पैसा मागेका छौ, त्यत्रा त्यत्रा मानिसहरुले भनेको पुर्‍याउनु पर्छ, इमान राख्नपर्छ भनेका छौ । कागज गर्नेहरुले दिन नसक्ने भनेका छन रे ! तपाईंहरुले केही भन्न सक्नुभएको छैन । धोका दिएर पीडामाथि पीडा थपिदिएका छन् हाम्रा परिवारलाई । हामी यो विषयमा कसैको पनि आँखाबाट आँसु बगेको देख्न चाहन्नौं ।'
कुरा २०६५ साल कार्तिक १९ गते दिलिप बिकको बसले ठक्कर दिएर मृत्यु भएपछि धादिङ यातायात व्यावसायी संघ र पीडित पक्षसंग मृतकको परिवारलाई ४ लाख दिने गरी सम्झौता भएपछि सो सम्झौता अनुसार संघले काम नगरेको विषयमा हो । साँच्चै धादिङ यातायात व्यावसायी संघले यो सहमति कार्यान्वयन नगर्ने कोसिस गरेर संस्थाको विस्वासमा संकट थोपरेको छ भने संघका प्रतिनिधिको हैसियतमा प्रश्न उठेको छ । मध्यस्थकर्तालाई सबै भन्दा बढी अप्ठेरामा पारेकोछ । यस्ता घटनामा सामाजिक भूमिका निर्वाह गर्ने व्यक्तिहरुको मनोवल गिराउने काम भएको छ । यस्ता अविश्वासको वातावरणले गर्दा आगामी दिनमा यदि यस्तै दर्ुघटना भएमा व्यावसायीहरुको अझ बढी क्षति हुन सक्ने सम्भावना देखिन्छ । त्यसैले अझ पनि यो सम्झौतालाई कार्यान्वयन गरी संघ प्रतिको विश्वास कायम गराउन र जति दवाब दिन सकिन्छ उती धेरै क्षतिपर्ूर्ति लिन, आफू र आफ्नो सवारी साधन आफ्नो हाता लागेपछि सम्झौतालाई खोस्टा मान्ने चलन तोड्न, व्यावसायीहरुको समान हकहित र संरक्षणको अुनुभूति दिलाउन अस्थायी जिल्ला तहको र्सवपक्षीय सहमति तयार गरी प्रचार प्रसार गर्न सके सबैको लागि हितकारी हुने थियो ।

No comments: